
काठमाडौं । गृह मन्त्रालयले देशमा निर्वाचनको वातावरण बनाउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पार्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै मुलुकमा अस्थिरता निम्त्याउने स्वार्थ समूहले धर्ना, जुलुस लगायतका कार्यक्रममा घुसपैठ गरी अराजकता फैलाउन सक्ने भन्दै आयोजकहरूलाई नै सचेत गराएको छ।
विज्ञप्तिमा, ‘जेनजी आन्दोलन’को बलमा बनेको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सम्पन्न गर्न लागिपरेको उल्लेख छ। सोही अनुरूप सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत–साधनको व्यवस्थापन र सरोकारवालासँग वार्ता गरिरहेको जानकारी दिएको छ।
वार्ताबाट समाधान खोज्न आग्रह
मन्त्रालयले सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको जनाउँदै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अपिल गरेको छ।
मन्त्रालयले भदौ २३ र २४ गतेको आन्दोलनपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी शान्ति सुरक्षाको अवस्था सामान्य बनाइएको अवस्थामा फेरि अस्थिरता निम्त्याउने प्रयास भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिने हक अधिकार कुण्ठित हुन नदिन मन्त्रालयले जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक सुरक्षाका साथै राष्ट्रिय सुरक्षामा खलल् हुन नदिइ मुलुकमा साम्प्रादायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ।”

























