छठको पूर्वसन्ध्यामा ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ सम्पन्न

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १९:०४

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा अवस्थित ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ कार्यक्रम आज (शनिबार) सम्पन्न भएको छ। छठ पर्व नजिकिँदै गर्दा पोखरीको सौन्दर्य र धार्मिक महत्त्वलाई पुनर्जीवित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहभागितामा सरसफाइ अभियान चलाइएको वडाध्यक्ष जितेन्द्र शाहले जानकारी दिए।

सांस्कृतिक महत्त्व जोगाउने प्रयास

सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने दामादिघी पोखरी लामो समयदेखि फोहोर र झारपातले ढाकिएको थियो। वडाध्यक्ष शाहका अनुसार पोखरीको संरक्षण, व्यवस्थापन र दिगो विकासका लागि महानगरपालिकाले दीर्घकालीन योजना बनाइरहेको छ।

सरसफाइ कार्यक्रममा सहभागीहरूले पोखरी वरिपरि जम्मा भएका प्लास्टिक, बोटबिरुवा र अन्य फोहोर पदार्थ हटाई सफा गरेका थिए।

पर्यटनस्थल बनाउने प्रतिबद्धता

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले दामादिघी पोखरीलाई आकर्षक पर्यटनस्थलका रूपमा विकास गर्न निरन्तर सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

वडा कार्यालयले दामादिघी पोखरीलाई विराटनगरको ऐतिहासिक र सांस्कृतिक सम्पदा मान्दै यसले स्थानीय समुदायको पहिचान र सामाजिक एकतामा योगदान पुर्‍याउँदै आएको बताएको छ।

वडाध्यक्ष शाहले छठ पर्वको अवसर पारेर पोखरीको सरसफाइ गरिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर सहकार्यका लागि सबैमा अपिल गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.