
काठमाडौँ । जेनजीद्वारा आह्वान गरिएको जनआन्दोलनको समन्वय संघर्ष समितिले मुलुकलाई निकास दिन सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेको छ । समितिले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिसहितको अन्तरिम सरकार गठनको आवश्यकता औंल्याएको हो ।
समितिका प्रतिनिधि लेनिन विष्टले राष्ट्रिय सङ्कट समाधानका लागि यस्तो सर्वपक्षीय सरकार अपरिहार्य रहेको बताए।
समितिको मुख्य प्रस्तावहरू:
सर्वपक्षीय अन्तरिम सरकार गठन: सबै राजनीतिक दल, नागरिक समाज र जेन-जी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन गर्ने । उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने ।
कार्यकालको सीमा: अन्तरिम सरकारको कार्यावधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहने ।
प्रमुख जिम्मेवारी: यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने
अन्तिम लक्ष्य: कार्यकाल समाप्तिपछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने ।
संयोजक विष्टले यो सरकार गठनका लागि सहयोग गर्न नेपाली काँग्रेस, नेकपा एमालेलगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गरेका छन् । उनले नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाइसकेको जानकारी पनि दिए ।

























