
काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानभन्दा बाहिर गएर राष्ट्रपतिलाई अन्तरिम सरकार गठन गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।
बुधबार प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथिको बहसमा सहभागी भण्डारीले जेनजीको माग संविधान संशोधन नभई पुरा हुन नसक्ने दाबी गरे । उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्री हुन नसक्ने बताए।
‘अन्तरिम सरकारलाई काम गर्ने अधिकार छैन’
बहसकै क्रममा अधिवक्ता एकराज पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नभएको जिकिर गरे ।
उनको भनाई थियो: ‘सरकार गठन असंवैधानिक छ। असंवैधानिक रूपमा बनेको सरकारले कुनै पनि काम गर्न पाउँदैन। सरकारलाई रिटहरूको अन्तिम सुनुवाइसम्म कुनै पनि काम कारबाही गर्न रोक लगाउनुपर्छ।’

























