‘जेनजी आन्दोलन’ मा तोडफोड : २५१ जना पक्राउ, ३६ हजार प्रमाण संकलन

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १८:१०

काठमाडौँ । ‘जेनजी आन्दोलन’ को क्रममा देशभर भएका तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा नेपाल प्रहरीले हालसम्म २५१ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले ११ कात्तिकसम्मको विवरण दिँदै पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको जानकारी दिएका छन्।

पक्राउ पर्नेमा काठमाडौँबाट ९९ जना, ललितपुरमा २६ जना, भक्तपुरमा २१ जना र बाँकी अन्य जिल्लाहरूबाट रहेको प्रहरीको भनाइ छ । प्रवक्ता घिमिरेले तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्न सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने बताएका छन्।

प्रहरीका अनुसार आगजनी, तोडफोड र लुटपाटका ३६ हजार भन्दा बढी भिडियो र फोटोहरू नागरिकहरूबाट इमेलमार्फत प्राप्त भएका छन्। प्रहरीले प्राप्त यी प्रमाणहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही अगाडि बढाइने बताएको छ।

स्मरण रहोस्, गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबारलगायत महत्वपूर्ण सरकारी संरचनाहरू जलाइएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.