
काठमाडौँ । ‘जेनजी आन्दोलन’ को क्रममा लुटिएका प्रहरीका हतियारहरूमध्ये आज (बुधबार) सम्म ७२३ थान फिर्ता भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौँमा लुटिएको हतियार कैलालीसम्म पुर्याइएको रहेछ।
लुटिएका र हराएका हतियारमा १ हजार २७१ थान थिए । तीमध्ये ७२३ थान फिर्ता भएको जनाइएको छ । प्रहरीका अनुसार केही हतियार बेवारिसे अवस्थामा भेटिएका थिए, केही हतियारसहित प्रदर्शनकारी पक्राउ परेका थिए भने केहीले भने आफैँ हतियार बुझाएका छन्।
अझै ५४८ हतियार फिर्ता हुन बाँकी रहेको छ। लुटिएका हतियार खोजी गर्न सातै प्रदेशमा डीएसपीको कमाण्डमा टोली बनाएर खोजीको काम भइरहेको छ। लुटिएका हतियारमा पेस्तोल, बन्दुक, ग्यास गनलगायत रहेको प्रहरीको भनाइ छ। प्रदर्शनकारी स्वयंले हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ र तस्वीरहरू सार्वजनिक गरेका थिए।

























