
विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको उपचारका क्रममा आज (बिहीबार) बिहान मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-१ घर भएका २० वर्षीय मुस्कान दनुवारको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए । शरीर सुन्निने समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।
अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको जेलर गौरव ढुंगेलले जानकारी दिएका छन् ।
उनको शव हाल सोही अस्पतालमा रहेको छ। दनुवार २०८१ साल माघ २२ गतेदेखि कारागारमा थुनामा थिए।























