
म्याग्दी । भारी हिमपातका कारण म्याग्दीको अन्नपूर्ण आधार शिविरमा अलपत्र परेका १७ जना विदेशीसहित ७२ जना पर्यटकहरूको सुरक्षाकर्मीको टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरू सोमबार रातीदेखिको वर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकी समस्यामा परेका थिए । म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा हिउँले बाटो पुरिएपछि अलपत्र परेका पर्यटकहरूलाई उद्धार गर्न मुस्ताङतर्फबाट पनि सुरक्षाकर्मी टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा गएको सात जना सशस्त्र प्रहरी, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकहरूको उद्धार गरेको हो । हिमपातका कारण पदमार्गहरू अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्थाबारे जानकारी लिन स्थानीय प्रशासनले सबै पर्यटकहरूलाई अनुरोध गरेको छ ।

























