
काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको आफ्नो हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए । उच्च अदालतको आदेश: यसअघि, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेको बिगो रकम बुझाएर थुनामुक्त हुने निवेदन र अन्य मुद्दाहरू संयुक्त रूपमा हेर्ने आदेश दिएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछाने र जोशी दुवैले आफ्नो भाग बराबरको अनुमानित बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसहित पेस गरेका थिए ।
बिगोको भाग स्पष्ट नभएको भन्दै रिहा गर्न नमिल्ने आदेश भएपछि लामिछाने र जोशी दुवै पुर्पक्षका लागि कारागारमा छन्। लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै छन् ।मुद्दाको अर्को पेशी कहिले तोकिन्छ भन्नेबारे जानकारी आउन बाँकी छ ।

























