मोरङको सुन्दरहरैँचामा सबैभन्दा बढी वर्षा

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार १५:०६
सांकेतिक तस्बिर

विराटनगर । पछिल्लो २४ घण्टमा देशभर सबैभन्दा बढी वर्षा मोरङको सुन्दरहैँचामा भएको छ ।

मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दरहरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मोरङपछि सप्तरीको बरमझियामा १४३ मिलिमिटर वर्षा भएको छ मोन्था चक्रवातको असर अहिले मधेस प्रदेश र कोशी प्रदेशमा बढी परेको विभागले जनाएको छ ।

बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ। २ सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा रहने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ । झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ। २ दर्जन बढी वर्षा मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ। ललितपुरमा ७२ र काठमाडौंमा ४० मिलिमिटर वर्षा भएको छ।

बंगालको खाडीमा विकसित भएको चक्रवात  ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने र त्यसपछि सुधार हुँदै जाने कायस्थले बताए ।

हाल देशभर साधरणतयादेखि अधिकांश बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.