
विराटनगर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पूर्वी नेपालको जनजीवन अस्तव्यस्त बनेको छ । मेची पहाडी क्षेत्रबाट तराई जोड्ने मेची राजमार्ग र तमोर करिडोर सडक खण्ड शनिबार पनि सञ्चालनमा आउन सकेनन्, जसले गर्दा सयौँ यात्रु मर्कामा परेका छन् ।
पाँचथर र धनकुटाको सीमामा रहेको नावा खोलामा आएको बाढीले ठूलो क्षति पुर्याउँदा सडक अवरुद्ध छ । वर्षा नरोकिएकाले क्षति व्यवस्थापनमा कठिनाइ भइरहेको तमोर करिडोर आयोजनाले जनाएको छ ।
यस्तै, फिदिम र कुम्मायक सीमावर्ती सिवा खोला दोभान मा कुम्मायक तर्फको सडक भत्किएकाले ठूला गाडी चल्न सकेका छैनन् । मेची राजमार्गको इलाम खण्ड अन्तर्गत राजदुवाली क्षेत्रमा पहिरोले सडकको ठूलो भाग भासिँदा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
सडक डिभिजन कार्यालय इलाम र नेपाली सेनाले अवरोध हटाउन शनिवारदेखि नै प्रयास गरिरहे पनि वर्षाले गर्दा सम्भव हुन सकेको छैन। डिभिजन प्रमुख पवन भट्टराईका अनुसार, साना गाडी गुडाउन मिल्ने अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ ।
फिदिम–फालौट सडक पनि फेमे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको छ । यो सडक खण्ड पनि शनिबारसम्म खुल्न सकेको छैन । पानीको मात्रा घटेपछि तत्काल डाइभर्सन र मर्मत गरेर यातायात चलाउने योजना पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।
शनिबारदेखि सफा रहने भनिए पनि मौसम अझै प्रतिकूल बनेको छ । मौसमविद्हरूले यो क्षेत्रमा अझै एकदुई दिन वर्षा हुने सम्भावना रहेको बताएका छन् । निरन्तरको वर्षाले गर्दा बाढी र पहिरोको जोखिम थप बढेको छ भने सडक खुलाउने काममा पनि ढिलाइ भइरहेको छ ।
मुख्य सडकहरू नै अवरुद्ध भएपछि छिमेकी जिल्ला र तराईसम्म झर्ने यात्रुले ठूलो सास्ती बेहोर्नु परेको इलामको गोदकका लक्ष्मी अधिकारी बताउँछन् । हरेक वर्षा याममा क्षतिग्रस्त हुने गरेको राजदुवाली सडक खण्डलाई बेलैमा व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । अवरुद्ध भएका बेला वैकल्पिक सडकहरु पनि प्रयोग गर्न लायकको बनाउन उनले सुझाव दिएका छन् ।

























