
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । पुर्पक्षका लागि कारागारमा रहेका पूर्वगृहमन्त्री लामिछानेसँग उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिइरहेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले लामिछानेसँग विशेषगरी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट उनी बाहिर निस्किएको घटनाबारे सोधपुछ गरिरहेको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने सोही दिन असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिर निस्किएका थिए ।
लामिछाने बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामाथि समेत गम्भीर प्रश्न उठेको थियो । चौतर्फी विवादपछि उनी फेरि कारागारमै फर्किएका थिए ।
यस घटनाको वस्तुस्थिति बुझ्न आयोगको टोली गत सोमबार नख्खु कारागारमै पुगेको थियो । आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ ।

























