‘जलवायु–सहनशील नीति र नवप्रवर्तन’मा राष्ट्रिय युवा सम्मेलन हुँदै 

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २१, शुक्रबार ०८:५८
जलवायु–सहनशील नीति र नवप्रवर्तन’मा राष्ट्रिय युवा सम्मेलन हुँदै 

इटहरी । जलवायु संकटका कारण सबैभन्दा बढी किसान मर्कामा परेका बेला त्यसमा सुधार ल्याउने उद्देश्यका साथ इटहरीमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा ‘राष्ट्रिय युवा सम्मेलन २०२५ ः दिगो कृषि प्रणालीका लागि’ भन्ने नाराका साथ यही मंसिर ५ देखि ७ गतेसम्म राष्ट्रिय सम्मेलन हुने भएको हो ।

कृषि अनुसन्धान निर्देशनालय, तरहरामा हुने सम्मेलनले जलवायु परिवर्तनका असरका बाबजुद कृषि क्षेत्रमा पर्याप्त ध्यान नपुगेको बताउँदै, जलवायु, सहनशील र दिगो कृषि, खाद्य प्रणालीका लागि युवा: वकालत, नीति र नवप्रवर्तन भन्ने मूल नारासहित आयोजनाको तयारी गरेको छ ।

आयोजक समितिका संयोजक प्रभाव कटवालका अनुसार सम्मेलनको उद्देश्य कृषि तथा वातावरण क्षेत्रमा युवाको नेतृत्व, नीति निर्माणमा उनीहरूको भूमिका र व्यावहारिक समाधानमा उनीहरूको योगदानलाई बलियो बनाउनु हो ।

कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय समिति जीपीसीएआरले संयुक्त रूपमा आयोजना र समन्वय गर्दै छन् । यसले पूर्वी नेपालको कृषि शिक्षा, अनुसन्धान, नवप्रवर्तन र युवा सहभागितालाई सुदृढ बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका कृषि विज्ञ, जलवायु परिवर्तनका अभियन्ता, नीति निर्माता, अनुसन्धानकर्ता, शैक्षिक तथा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका सरोकारवाला र सामुदायिक विकासमा संलग्न संस्थाका प्रतिनिधिहरू सहभागी हुने छन् ।

सहभागी युवाहरूले व्यावहारिक सीप, सहकार्य सञ्जाल निर्माण र नीतिगत सोचमा स्पष्टता प्राप्त गर्ने अपेक्षा गरिएको संयोजक  कटवालले बताए।

राष्ट्रिय युवा सम्मेलन २०२५ को मुख्य उद्देश्य युवा आवाजलाई कृषि नीति र कार्यान्वयनमा प्रभावकारी रूपमा प्रविष्ट गराउने, युवाबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, तथा दिगो र जलवायु–अनुकूल कृषि प्रणाली निर्माणमा युवालाई केन्द्रीय भूमिकामा स्थापित गर्नु रहेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.