
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरू आगामी राजनीतिक रणनीति तय गर्नका लागि छलफलमा जुटेका छन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिचेको भन्दै बाँकी दलहरू असन्तुष्ट बनेका छन् ।
सोही असन्तुष्टि र प्रदेश प्रमुखको कदमविरुद्ध आगामी रणनीति बनाउन अहिले ती दलहरू छलफलमा जुटेका हुन् । छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलहरू सहभागी भएका छन् ।
उनीहरूले प्रदेश प्रमुखको कदमलाई असंवैधानिक भन्दै त्यसको कानुनी तथा राजनीतिक प्रतिवादका लागि साझा रणनीति बनाउने तयारी गरिरहेको जनाइएको छ ।

























