
विराटनगर । झापाको दमकमा अत्यधिक मदिरा सेवन गरेका पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–७ सयपत्री टोलका ४७ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौलागाईंलाई अत्यधिक मदिरा सेवन गरेर दमक–६ बोका हाउसअगाडि लडिरहेको अवस्थामा मंगलबार दिउँसो फेला पारिएको थियो । स्थानीयले उनलाई लडिरहेको अवस्थामा देखेका हुन् ।
त्यसपछि उनलाई भाइ योगेन्द्र चौलागाईंले घर लगेर राखेका थिए । बिरामी परेपछि बुधबार बिहान ९ः३० बजेतिर दमक अस्पतालमा भर्ना गरियो । अस्पताल पुर्याएको केहीबेरमै उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम दमक अस्पतालमै गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको पत्ता लागेको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























