
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि उनले जिम्मेवारी सम्हालेका हुन् ।
कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा भक्कानिएका थिए । ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि अड्किए । अगाडि रहेको टिस्यु पेपरले आँखा र नाक पुछेपछि उनले बोल्न सुरु गरेका थिए ।
उनले आफूले पाएको विशिष्ट जिम्मेवारीलाई पारदर्शी र जवाफदेहिताका साथ पूरा गर्दै नागरिक सेवा भावको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए ।
कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । गत २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए । कुनै ठूलो विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

























