
तत्कालीन प्रदेश १ को नाम कोशी राखिएपछि पहिचानवादी पक्षधरले चरणवद्ध रुपमा आन्दोलन गरे । पहिचानवादी घटकले प्रदेश नं. १ पुनः नामांकन अभियान समितिको नेतृत्व डकेन्द्रसिंह थेगिमले गरिरहेका थिए । आन्दोलन कमजोर भएपछि थेगिम पार्टी राजनीतिमा लागेका छन् ।
थेगिम २०८१ वैशाख १५ गतेको इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । मुढा चुनाव चिह्नसहित पहिचानवादीको मुद्दा लिएर उठेका उनको एजेन्डा अनुमोदन भएन । तर, थेगिमलाई पहिचानवादी नेताहरुले साथ दिए । साथ दिनेमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि थिए । थेगिम इलाम २ मा ११ हजार ४ सय ५७ मत ल्याएर तेस्रो स्थानमा रहे ।
थेगिम र साम्पाङको सम्बन्ध सुमधुर थियो । हर्कले पार्टी खोल्दा थेगिमलाई सम्झेनन् । हर्कले नसम्झिएपछि उनी ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा जोडिएका छन् । उज्यालो नेपाल पार्टीमा जोडिएका थेगिम पार्टीले एजेण्डा पहिचान भएको बताउँछन् । पहिचान आन्दोलन र पार्टी यात्राका विषयमा थेगिमसँग मुलुकी खबरले गरेको कुराकानीको सम्पादित अंश :
नयाँ पार्टीको अभियान कस्तो चलिरहेको छ ?
अहिले हाम्रो पार्टीको अभियानअन्तर्गत बैठकहरू भइरहेका छन् । हामी सबै नेता तथा कार्यकर्ताहरू मिलेर पार्टीलाई अगाडि बढाउने विषयमा छलफल गरिरहेका छौँ ।
तपाईं पहिचानवादी नेता हुनुहुन्छ, नयाँ पार्टीमा किन आबद्ध हुनुभयो ?
हामी पहिचानको मुद्दा बोकेरै यो नयाँ पार्टीमा आबद्ध भएका हौँ । यो अचम्म मान्नुपर्ने कुरा पटक्कै छैन । किनभने, यो पार्टीको विधानमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व र बहुसांस्कृतिकवादका कुराहरू स्पष्ट रूपमा समेटिएका छन् । यसले पहिचानको मुद्दालाई सम्बोधन गर्छ । पहिचान भनेको लिम्बुवान वा खम्बुवान पार्टी मात्र होइन, यो बृहत् अवधारणा हो ।
नयाँ पार्टीमा आबद्ध हुनुअघि पहिचानवादी मोर्चाका नेता र घटकहरूसँग सल्लाह भयो ? कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हामीले सल्लाह गरेरै अगाडि बढेका हौँ । संयुक्त पहिचानवादी मोर्चामा जो-जो घटकहरू थिए, उहाँहरूसँग परामर्श भएको छ । जस्तो कि, मैले नेतृत्व गरेको अभियान समिति, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, प्रदेश नं. १ को नागरिक उन्मुक्ति पार्टीलगायतका अन्य समूहहरू छलफल भएकाे छ । यसका साथै, माओवादीकाे पहिचानवादी माेर्चासँग पनि छलफल भयाे । सबैको सहमति र सल्लाहमा नै हामी यो नयाँ बाटोमा हिँडेका हौँ ।
पार्टीमा आबद्ध भइसकेपछि प्रदेश १ को पहिचानको मुद्दा कसरी अगाडि बढ्छ ?
पार्टीमा आबद्ध भइसकेपछि अब हामी यस विषयमा विस्तृत सल्लाह गर्छौं । पहिले पहिचानको आन्दोलन सामाजिक संघसंस्थाहरू लिम्बुवान, आदिवासी जनजाति महासंघ, शेर्पा संघ, किराँत राई याक्खाले नेतृत्व गरेका थिए । अब पार्टीमा आबद्ध भइसकेपछि यसको जिम्मेवारी तिनै सामाजिक संघसंस्थाहरूलाई उनीहरूको मापदण्ड र विधिअनुसार दिनेछौँ । राजनीतिक पार्टीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी प्रदेश १ को नेतृत्व गर्नुपर्छ भन्ने कुरा पनि पहिला उठेको थियो, त्यसरी पनि हुन सक्छ । अब म यसको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु । म यो जिम्मेवारीलाई अरूलाई हस्तान्तरण गर्न चाहन्छु ।
पहिचानवादी आन्दोलन सेलाएको छ नि ?
असार साउनको खेतीपाती, जेन्जी आन्दोलन, त्यसपछि दसैँ तिहारको चाडपर्वकाे कारणले आन्दोलन रोकिएको जस्तो देखिएको हो । तर, पहिलेदेखि नै आन्दोलन केही सुस्त भएको थियो । जेन्जी आन्दोलनअघि मैले एउटा अन्तरधार्मिक राष्ट्रिय गोष्ठी सम्मेलन काठमाडौँमा सम्पन्न गरेको थिएँ, जुन पहिचानको आन्दोलनअन्तर्गत नै पर्थ्यो । त्यसपछि थप कार्यक्रम गर्ने योजना थियो, तर जेन्जी आन्दोलन भयो । त्यसपछि ६ महिनाको सरकार बन्यो र उपनिर्वाचनको समयमा स्वतन्त्र रूपमा भाग लिन सम्भव नभएकाले पार्टी निर्माण गर्ने कुराले मेरो गतिविधिलाई प्रभाव पारेको हो । अब नयाँ पार्टीमार्फत हामी पुनः सक्रिय हुनेछौँ ।
पार्टी निर्माण गर्ने क्रममा हर्क साम्पाङसँग सल्लाह भयो कि भएन ?
उपनिर्वाचनमा हर्क साम्पाङले सहयाेग गर्नुभयाे । उपनिर्वाचनपछि केही समय अन्तरसंवाद भइराखेको थियो । तर, बीचमा ‘कम्युनिकेशन ग्याप’ भयो । उहाँ निकै व्यस्त भएकाले फोन लागेन वा उठाउन भ्याउनु भएन । मैले उहाँसँग जोडिन निकै प्रयास गरेँ, तर उहाँबाट सकारात्मक प्रतिक्रिया पाइनँ । उहाँ पार्टी निर्माणका लागि काठमाडौँ आउनुभएको जानकारी पनि मैले उहाँबाट नभई अरूबाट पाएको थिएँ । उहाँका कार्यकर्ताहरूको कमजोरी पनि हुन सक्छ, किनकि उहाँ देशभरिका नगरपालिकामा पार्टी स्थापना गर्न व्यस्त हुनुहुन्थ्यो । यस कारण हामीबीच अपेक्षित समन्वय हुन सकेन ।
हर्क साम्पाङसँग भोलि कार्यगत एकता हुने सम्भावना छ कि छैन ?
कार्यगत एकताको सम्भावना एकदमै छ । मैले सम्मानजनक मत प्राप्त गर्नमा उहाँको ठूलो योगदान छ । हामी ४१ घटक राजनीतिक पार्टी र सामाजिक संघसंस्थाहरू थियौँ, सबैको योगदान छ र त्यसमा उहाँको योगदान ‘प्लस’ हो । म उहाँप्रति सधैँ कृतज्ञ छु । मेरो विचारमा आगामी दिनमा सहकार्य, गठबन्धन र मोर्चाबन्दी हुन्छ । मेरो व्यक्तिगत धारणा के हो भने, कुलमान घिसिङजस्ता देशभक्त, राष्ट्रवादी र देशको उन्नति चाहने व्यक्ति तथा हर्क साम्पाङजस्ता श्रम संस्कृति विकास गर्ने र कुनै आरोप नलागेका साथीहरू एक भएर जानुपर्छ । एक भएर चुनाव लड्नुपर्छ, नभए पनि कम्तीमा सहकार्य वा मोर्चाबन्दी गरेर चुनाव लड्न सक्ने वातावरण तयार गर्नुपर्छ भन्ने सोच राखिएको छ ।
नयाँ पार्टी भर्खरै गठन भएको छ, यसले संघीयता र पहिचानका मुद्दाहरूमा आधिकारिक धारणा कहिले सार्वजनिक गर्छ ?
हाम्रो पार्टीको विधान लगभग तयार भइसकेको छ । यसमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, सामुदायिक समाजवाद, बहुसांस्कृतिकतावाद र समतामूलक समाज निर्माण गर्ने भन्ने कुराहरू आएका छन् । यी सबै कुराहरू विधानमा परेपछि सबै मुद्दाहरू समेटिएको मैले महसुस गरेको छु । यो नै हाम्रो आधिकारिक धारणा हुनेछ ।

























