
काठमाडौं । संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार गठनको मागसहित नेकपा (एमाले)ले शनिबार देशभर शक्ति प्रदर्शन गरेको छ ।
पार्टीले संसद विघटनलाई ‘प्रतिगामी कदम’ र सरकार गठन प्रक्रियालाई ‘अवैधानिक चालबाजी’ भन्दै देशका सबै जिल्लाका सदरमुकाम तथा ठूला सहरहरूमा विशाल जनसभा र जनपरिचालन कार्यक्रम गरेको हो । बिहानदेखि नै देशका विभिन्न भूभागमा आयोजित सभाहरूमा शीर्ष नेतादेखि स्थानीय कार्यकर्तासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले एमाले कुनै पनि संकटबाट नभाग्ने पार्टी भएको टिप्पणी गरे । उनले लोकतन्त्र स्थापनाका लागि पार्टीका नेता कार्यकर्ताले विगतमा भोगेका जेलयातना, भूमिगत संघर्ष र बलिदान स्मरण गर्दै अहिले देखिएको चुनौतीलाई सहज रूपमा सामना गर्न सकिने दाबी गरे ।
उनले भने, ‘एमालेका नेता–कार्यकर्ता वर्षौँ जेल बस्यौँ, भूमिगत बस्यौँ । हामीसँग संकटमा टक्करिने अदम्य अनुभव छ । पार्टी कार्यालय जलाएर, घर जलाएर एमाले सकिन्छ भन्ने सोच्नेहरू भ्रममा परे । आज मैदानमा उठेको जनलहर हेर्नु भयो भने एमालेभन्दा शक्तिशाली अर्को शक्ति तपाईंले देख्नुहुन्न ।’
चितवनको सभालाई सम्बोधन गर्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिन तयार पारिएको ‘हनी ट्र्याप’को संज्ञा दिए । उनका अनुसार यो साधारण निर्वाचन नभइ ‘साम्राज्यवादी शक्तिहरूले दलाल शक्तिलाई स्थापित गर्ने षडयन्त्रपूर्ण खेल’ हो । जसबाट देशलाई गम्भीर जोखिम निम्त्याइनेछ ।
उनले भने, ‘यो सामान्य चुनाव होइन । संसदीय निर्वाचनको सामान्य अभ्यास पनि होइन । शक्तिशाली विदेशीहरूका उद्देश्यलाई अघि बढाउने एउटा नौटंकी हो । त्यसैले फागुन २१ को निर्वाचनमा एमाले पर्न हुँदैनभन्ने स्पष्ट छ ।’
सचिव छविलाल विश्वकर्माले देशभर फैलिएको जेनजी आन्दोलनको आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे । उनले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन नसक्ने सरकारबाट स्वतन्त्र, निष्पक्ष र सुरक्षित निर्वाचनको अपेक्षा नै गर्न नसकिने टिप्पणी गरे । उनका अनुसार हालको अस्थिरताले चुनावको वातावरण नै बनेको छैन ।
कैलालीमा भएको कार्यक्रममा सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको लागि एमाले संघर्षरत रहेको दोहोर्याए । भट्टले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की संविधानको मर्यादा उल्लंघन गर्दै प्रधानमन्त्री बनेको दाबी गरे । प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै विकल्प नभएको तर्क उनको छ ।
लमजुङमा आयोजित कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले फागुन २१ मा सरकारले चुनाव नै नगराउने बताए । समस्या समाधानको मार्ग संसद पुनर्स्थापनाबाहेक छैन भन्दै उनले वर्तमान राजनीतिक जटिलता ‘संसद विहीन अवस्थाबाट उत्पन्न’ भएको बताए ।
गुल्मीमा नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन संविधानविपरीत रहेको निष्कर्ष सुनाइन् । भदौ २३ र २४ का घटनालाई ‘हामीले देखेकामध्ये सबैभन्दा भयावह’ भन्दै उनले आन्दोलनको नाममा भइरहेको गतिविधिबाट भुलभुलैयामा नपर्न आग्रह गरिन् ।
उनले थपिन्, ‘यो सामान्य आन्दोलन थिएन । यो कसको विरुद्ध थियो भन्ने बुझ्न आवश्यक छ । राष्ट्रियताको प्रश्नमा शिर ठाडो पारेर सरकारले कदम चाल्न थालेपछि केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी सुरु गरियो ।’
सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीले पनि सरकारले घोषणा गरेको चुनाव नहुने ठोकुवा गरे । उनले भने, ‘पहिले प्रतिगमन सच्चिनुपर्छ । त्यो सच्चिने उपाय भनेको प्रतिनिधिसभा पुनर्स्थापना हो । त्यसपछि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ र त्यसपछि मात्र ‘अर्ली’ निर्वाचनको बाटो खुल्छ ।’
शक्ति प्रदर्शनमार्फत एमालेले देशभर आफ्नो संगठन शक्ति, विरोधीहरूविरुद्धको राजनीतिक आक्रामकता र आसन्न सत्ता–राजनीतिक संयोजनका विषयमा स्पष्ट सन्देश दिएको छ । संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन र वर्तमान सत्ता व्यवस्थालाई सुधार्न व्यापक राजनीतिक पुनर्गठन आवश्यक रहेको एमालेको निष्कर्ष छ ।
देशभरका सभाहरूमा जुटेको भिड र नेतृत्वको आक्रमक टिप्पणीले एमाले अब प्रत्यक्ष सडक राजनीतिक मोडमा प्रवेश गरेको संकेत दिएको विश्लेषण गरिएको छ ।
























