
विराटनगर । पाँचथर र इलामको सीमावर्ती गोरुवाले भन्ज्याङ नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँचथरको फिदिम नगरपालिका–१४ घर भएका सोमबहादुर राईको मृत्यु भएको छ ।
इलामको माइमझुवाबाट नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर पाँचथरको लुङरुपातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ३४०२ नम्बरको ट्याक्टर शनिबार राति भिरबाट खस्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राई उक्त ट्याक्टरका सहचालक हुन् ।
दुर्घटनामा परेर अन्य २ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल लगिएको छ । दुर्घटनापछि चालक फरार रहेको र खोजी तीव्र पारिएको पाँचथर प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णले बताए ।
दुर्घटनाको कारण पत्ता लागेको छैन । फरार रहेका चालकको खोजी जारी राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























