
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना प्रणालीमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नपुगेको स्पष्ट पारेको छ । हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचना फेला पारेको भनी गरिएका दाबीहरू प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले सूचना जारी गर्दै भनेको छ, “निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ।” आयोगले नागरिकका कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको समेत दोहोर्याएको छ ।
आयोगसँग सम्बद्ध सूचना प्रविधि विज्ञहरूले प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन् । सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणालीको सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गरिएको आयोगले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरूका बारेमा समेत आयोगले प्रस्टीकरण दिएको छ । आयोगका अनुसार ती फाइलहरू विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू हुन् ।

























