
विराटनगर। ताप्लेजुङको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा मन्दिरमा गत कात्तिक महिनामा ३४ लाख ४८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो एक महिनाको अवधिमा मन्दिर दर्शनका लागि ४२ हजार २ सय ६१ जना तीर्थयात्री पुगेका थिए ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यसवर्षको कात्तिकमा भेटी सङ्कलन र तीर्थयात्रीको सङ्ख्या गत वर्षको कात्तिक महिनाको तुलनामा कम छ । यसवर्ष असोज महिनामा भएको वर्षा र त्यसले निम्त्याएको सडक अवरोधले तीर्थयात्रीको आवागमनमा प्रभाव पारेको निर्देशक हाङबाङले जानकारी दिए ।
मन्दिरमा तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले सङ्कलन गर्छन् । प्रहरीको समेत रोहवरमा भेटीलाई झोलामा लाहाछाप लगाई पाथीभरा फेदीमा ल्याएर जम्मा गरिन्छ । यसको अन्तिम गणना भने सदरमुकाम फुङलिङमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा हुने गरेको छ ।

























