दुर्गा प्रसाईं पक्राउको विरोधमा ‘नागरिक बचाउ दल’ द्वारा देशव्यापी आन्दोलन घोषणा

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १०:२४

काठमाडौँ । ‘नागरिक बचाउ दल’ का नेता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा दलले तत्कालै सङ्घर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यसअघि मंसिर ७ गते प्रदर्शन गर्ने तयारी भए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा दल आजैबाट देशव्यापी प्रदर्शनमा उत्रिने भएको हो ।

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले सरकारले शान्ति भङ्ग गरेको आरोप लगाएका छन् । उनले भने,  “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भङ्ग गरेको छ। त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।”

प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार, हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

दलले पहिलो चरणमा आजैबाट आन्दोलनका कार्यक्रम सुरु गर्ने जनाएको छ । महामन्त्री थाम्सुहाङले आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउने बताएका छन् । आजैबाट देशव्यापी प्रदर्शन सुरु गरिने दलको भनाइ छ ।

नागरिक बचाउ दलले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरेको छ । माग पूरा नभए ‘सडकबाटै सरकारको अन्त्य गर्ने’ चेतावनी समेत महामन्त्री थाम्सुहाङले दिएका छन् । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहाको मागसहित आन्दोलनको तयारीमा थिए । उनी यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका र अदालतको आदेशपछि छुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.