दुर्गा प्रसाईंविरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु, समर्थकले गरे प्रदर्शन

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १४:४२

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि म्याद थप भएपछि उनी कम्तीमा पनि आगामी चार दिन प्रहरी नियन्त्रणमै रहनेछन् ।

प्रसाईंलाई मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने तयारी गरिरहेकै बेला आइतबार राति १२:३० बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले भक्तपुरको सानोठिमीस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई विचार तथा अभिव्यक्तिका कारण नभई सार्वजनिक शान्ति–सुरक्षामा खलल पुग्ने किसिमका अभिव्यक्ति र गतिविधि गर्दै आएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रसाईंमाथिको अनुसन्धान सार्वजनिक शान्ति–सुरक्षामा खलल पुग्ने गतिविधिको कोणबाटै अगाडि बढाइने बताएका छन् ।

प्रसाईंलाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौं लैजाँदा परिसरबाहिर उनका समर्थकहरूले विरोध प्रदर्शन गर्दै ‘दुर्गा प्रसाईंको रिहाइ’ भन्दै नारा लगाएका थिए । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली सोमबार बिहानै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो ।टोलीले प्रहरी अधिकारी र प्रसाईं स्वयंलाई भेटेर जानकारी लिँदा प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पक्राउ गरिएको, थुनुवा पुर्जी थमाइसकिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिवेदन प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगले विचार तथा अभिव्यक्तिको अधिकार प्रयोग गरेको कारण मात्र कसैलाई पक्राउ गर्नु मानव अधिकारविरुद्ध हुने चेतावनी दिँदै नेपाल सरकारलाई गम्भीर हुन निर्देशन दिएको छ । साथै, आयोगले राजनीतिक दल, कार्यकर्ता, अभियन्ता तथा सर्वसाधारणलाई देशमा अशान्ति मच्चिन सक्ने अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।

थपिएको चार दिनको म्याद सकिएपछि अनुसन्धानको निष्कर्ष र सरकारी वकिलको धारणाले प्रसाईंको कानुनी र राजनीतिक भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.