
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै फरक विचारको अस्तित्व स्वीकार्नु र नागरिकको निर्बाध आवतजावतको स्वतन्त्रताको सम्मान गर्नु हो । तर, आज बाराको सिमरामा जे देखियो, त्यसले हाम्रो लोकतान्त्रिक अभ्यास र सहिष्णुतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।
सिमरा विमानस्थल क्षेत्रमा नेकपा (एमाले) का नेताहरूलाई रोक्ने नाममा जसरी तनावको स्थिति सिर्जना गरियो र त्यसको प्रतिवादमा जुन प्रकारको बल प्रयोग र कर्फ्युको अवस्था आयो, यी दुवै लोकतन्त्रका लागि शुभ संकेत होइनन् ।
विचारलाई बाटो छेकेर जितिँदैन । कुनै दल वा नेतासँग असहमति हुन सक्छ । उनीहरूको विगतका क्रियाकलाप वा वर्तमानका एजेन्डा मन नपर्न सक्छ । तर, ‘मन नपर्नु’ र ‘निषेध गर्नु’ नितान्त फरक कुरा हुन् । एमाले महासचिव शंकर पोखरेल वा नेता महेश बस्नेत बारा जान लाग्दा विमानस्थलमै अवरोध सिर्जना गर्नु भनेको सिधै व्यक्तिको ‘आवतजावत गर्ने अधिकार’ माथिको हनन हो ।
लोकतन्त्रमा विचारलाई विचारले काट्ने हो, तर्कलाई तर्कले जित्ने हो । बाटोमा तगारो हालेर, ढुंगा हानेर वा हुलहुज्जत गरेर कुनै पनि विचारलाई परास्त गर्न खोज्नु राजनीतिक कायरता हो । यो प्रवृत्तिले समाजलाई मुठभेडतिर त लैजान्छ नै, अन्त्यमा यसले कसैको पनि स्वतन्त्रता सुरक्षित राख्दैन । आज एमालेलाई निषेध गर्नेले भोलि कांग्रेस वा अन्य दललाई पनि निषेध गर्न सक्छ । यो ‘निषेधको राजनीति’ को चक्रव्यूह निकै घातक छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ठीकै प्रश्न उठाएका छन्– के यो साँच्चिकै ‘जेन–जी’ को स्वभाव हो त ? जुन पुस्ता डिजिटल संसारमा वाक स्वतन्त्रता र खुलापनको वकालत गर्छ, के त्यही पुस्ताले भौतिक रूपमा कसैको बाटो छेक्न सक्छ ?
‘जेन–जी’ भनेको नयाँ सोच, प्रविधि र खुला समाजको पक्षपाती पुस्ता हो । यदि कसैले राजनीतिक प्रतिशोध साध्नका लागि यो पुस्ताको नाम र उर्जालाई ‘ढाल’ बनाएर अराजकता मच्चाउन खोज्दैछ भने त्यो झन् ठूलो विडम्बना हो । युवा सम्राट उपाध्यायमाथि भएको हातपातको घटना निन्दनीय छ, त्यसको कानुनी उपचार खोजिनुपर्छ । तर, त्यसैको बदलामा विमानस्थल घेराउ गर्नु र सिंगो सहरलाई कर्फ्युको त्रासमा धकेल्नुलाई ‘युवा विद्रोह’ को नाम दिन सकिँदैन । यो त सिधै भिडतन्त्रको अभ्यास हो ।
एकातिर एमाले नेता महेश बस्नेतले ५०–६० जनाको प्रदर्शनलाई प्रशासनले नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनुलाई ‘नैतिक रूपमा गलत’ भन्दै प्रशासनको लाचारी औंल्याएका छन् । अर्कोतिर, प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराउँदै शर्माले भ्रमणको वातावरण नबनेसम्म चुनाव नहुने चेतावनी दिएका छन् ।
यसले के देखाउँछ भने, राज्य संयन्त्र नागरिकको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न चुकिरहेको छ भने राजनीतिक दलहरू संयमित हुनुको साटो उत्तेजनामा रमाइरहेका छन् । ५०–६० जनाको समूहले विमानस्थल जस्तो संवेदनशील क्षेत्र ठप्प पार्दा प्रशासन रमिते बन्नु र अन्तिममा कर्फ्यु नै अन्तिम विकल्प ठान्नु प्रशासनिक विफलता हो ।
सिमरा घटनाले प्रष्ट सन्देश दिएको छ– लोकतन्त्रमा ‘लक्ष्मणरेखा’ नाघ्ने छुट कसैलाई छैन । न त एमाले कार्यकर्ताले अरूमाथि हातपात गर्न पाउँछन्, न त ‘जेन–जी’ को नाममा कसैले अरूको बाटो छेक्न पाउँछ ।
यदि हामीले ‘जसको शक्ति उसैको भक्ति’ वा ‘जसको लाठी उसैको भैंस’ भन्ने शैलीमा सडकबाटै न्याय खोज्न थाल्यौं भने, हामीले परिकल्पना गरेको विधिको शासन धरापमा पर्नेछ । निषेधको राजनीतिले अन्त्यमा आफैलाई जलाउँछ। तसर्थ, बाटो छेक्ने होइन, बहस गर्ने संस्कार बसाालौं ।

























