
काठमाडौँ । नेकपा (एमाले) का नेताहरूलाई रोक्ने उद्देश्यले ‘जेनजी’ युवाहरूले गरेको प्रदर्शन उग्र बनेपछि बाराको सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ । बाराको परवानीपुरमा आयोजित एमालेको प्रदेश जागरण कार्यक्रममा सहभागी हुन जान लागेका नेताहरूलाई लक्षित गरी बुधबार विमानस्थल बाहिर प्रदर्शन भएको हो ।
एमाले नेताहरूको आगमनको जानकारी पाएपछि जम्मा भएका प्रदर्शनकारीहरूले सिमरा विमानस्थलको बाहिरी गेटमा तोडफोड गरेका छन् । प्रदर्शनकारीलाई रोक्न र विमानस्थलको सुरक्षा व्यवस्था कडा पार्न प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२, सिमरा चोकमा एमाले कार्यकर्ता र जेनजी युवा समूहबीच झडप भएको थियो । झडप र तोडफोडका कारण सुरक्षा जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनका अनुसार जितपुरसिमरा उपमहानगरपालिकाका केही संवेदनशील क्षेत्रहरू, विशेषगरी सिमरा विमानस्थल आसपास र सिमरा चोक क्षेत्रमा आवतजावत र भेला हुन निषेध गरिएको छ । स्थिति सामान्य नहुन्जेलसम्मका लागि प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

























