कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः ४ वर्षपछि सर्वोच्चमा सुनुवाइ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १५:३७

काठमाडौँ । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा पेसी तोकिएको छ । २०७८ सालदेखि सर्वोच्चमा विचाराधीन रहेको यो कर्तव्य ज्यान सम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासमा तोकिएको हो ।

२०६१ जेठ २४ गते चितवनको रत्ननगरस्थित बकुलहरमा तत्कालीन विद्रोही माओवादी पक्षबाट कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको थियो । उनी ‘एसएलसी’ परीक्षा दिएर हजुरबुबा भेट्न चितवन गएका थिए ।

जिल्ला अदालत चितवनले २०७५ सालमा र उच्च अदालत पाटन (हेटौँडा इजलास) ले २०७७ चैत २९ गते अभियुक्तहरूलाई सफाइ दिएको थियो । प्रमाण नपुगेको भन्दै तल्लो अदालतले सफाइ दिएपछि सरकार पक्ष न्याय माग्दै सर्वोच्च अदालत आएको हो ।

यो मुद्दा २०७८ साउन २७ गते सर्वोच्चमा दर्ता भएको थियो । यसअघि २०८१ वैशाख १२ गतेको आदेशअनुसार सबै प्रतिवादीलाई झिकाउने आदेश भएको थियो ।

तल्लो अदालतबाट सफाइ पाउनेहरूमा सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, पर्शुराम पौडेल, हिमलाल अधिकारी लगायत १२ जना छन् ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेका बुबा नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा निधन भइसकेको छ । उनको शव अझै पनि शिक्षण अस्पताल महाराजगन्जमा छ । आमा गंगामाया अधिकारी अहिले पनि सरकारी संरक्षणमा न्यायको आसमा छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.