रवि लामिछाने र छविलाल जोशीको मुद्दा संयुक्त इजलासमा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार ११:२०

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दा उच्च अदालत बुटवलको इजलासमा पेसी तोकिएको छ ।

बुटवलस्थित उच्च अदालतमा बिहीबार सो मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको हो । उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञमूर्ति ज्ञवालीले गोलाप्रथाबाट मुद्दाको इजलास टुङ्गो लागेको जानकारी दिए ।

गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । लामिछाने र जोशी दुवै अहिले सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । अदालतले यसअघि नै उनीहरूको मुद्दालाई एकैसाथ हेर्न आदेश दिएको थियो ।

लामिछानेले बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा आफ्नो हिस्साको बिगो रकम दाखिला गरेपनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि लामिछानेले सो आदेशविरुद्ध भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.