जेनजी आन्दोलनका क्रममा दमकबाट लुटिएका हतियार फेला, १ जना पक्राउ

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार ११:५७
सांकेतिक तस्बिर ।

विराटनगर । गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक, झापाबाट जेनजी आन्दोलनको क्रममा लुटिएका २ थान हतियार र गोलीगठ्ठा फेला परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा ती हतियार लुकाउने १ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–६ बाट प्रहरीले मङ्सिर २ गते दिउँसो करिब १ं३० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका–३ बस्ने सुशील फियाक लिम्बूलाई पक्राउ गरेको हो । अन्दाजी २२ वर्षका फियाकलाई खोजी तथा सोधपुछका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका फियाकले ती हतियार पाँचथर मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेस्थित लामागाउँको ओडारमा लुकाएर राखेको खुलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले कानुन बमोजिम ती हातहतियार तथा गोलीगठ्ठाहरू बरामद गरेको छ ।

बरामद भएका सामग्रीहरूमा सिरियल नम्बर ६२०३८ भएको म्याग्जिनसहितको ३०३ मार्क ३ राईफल एक थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिन नभएको र बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको ईन्सास राइफल १ थान छन्। यसका साथै ईन्सासको जङ्गी राउण्ड एक थान र एसएलआरको जङ्गी राउण्ड तीन थान पनि फेला परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका लिम्बूमाथि अब हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया इलाका प्रहरी कार्यालय दमकबाट अगाडि बढाइनेछ ।

गत भदौ २४ गते इप्रका दमकमा भएको तोडफोड र आगजनीको घटनापछि प्रहरीका ती हातहतियारहरू लुटिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.