
काठमाडौं । बाराको सिमरा क्षेत्रमा जेनजी समूहले आज (बिहीबार) बिहानैदेखि प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थिति नियन्त्रणमा लिन पुनः कर्फ्यू आदेश जारी गरेको छ ।
प्रदर्शनका कारण स्थिति थप भड्किन नदिनका लागि स्थानीय प्रशासनले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्म का लागि कर्फ्यू लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराले तोकेअनुसार, वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
हिजो नेकपा (एमाले) का कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएको थियो । एमालेका नेता महेश बस्नेत लगायतका नेताहरू बारा जाने कुरालाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । झडपका कारण सिमरा बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।
स्थिति थप बिग्रन नदिनका लागि स्थानीय प्रशासनले हिजो पनि सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

























