
बारा । बिहीबार दिनभरि तनावमय बनेको बाराको सिमराको जनजीवन बेलुकीदेखि सामान्य बन्दै गएको छ ।
जेनजी समूहको नाम लिएर बिहानैदेखि सिमरा चोक र आसपासका क्षेत्रमा गरिएको उग्र प्रदर्शनका कारण पथलैया–वीरगञ्ज सडक अवरुद्ध भएको थियो । उक्त सडक दिउँसो ४ बजेपछि सञ्चालनमा आएको छ । प्रदर्शनकारी हटेसँगै गाडीहरू चल्न थालेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
जिल्ला सुरक्षा समितिले जेनजी पक्षका अगुवाहरूसँग वार्ता गर्न बोलाए पनि नेतृत्व टोली उपस्थित नभएकाले छलफल शुक्रबार मात्र हुने सम्भावना रहेको प्रजिअ मिश्रको भनाइ छ । उनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता समितिबाट दिइसकिएको र वार्ताका लागि प्रशासन पूर्ण रूपमा तयार रहेको बताए ।
बुधबार एयरपोर्ट क्षेत्रमा जेनजी समूह र एमाले समर्थकबीच विवाद भएपछि सुरु भएको तनाव बिहीबार उग्र बनेको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायरसमेत गर्नु परेको थियो । झडपमा डीएसपीसहित ९ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
जेनजीमाथि आक्रमणको आरोपमा २ वडाध्यक्ष पक्राउ परे पनि मुख्य आरोपित अरवीन्द साह पक्राउ नपरेको भन्दै जेनजी पक्ष आक्रोशित छ । उनीहरूले साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान लिएका छन् ।
जेनजी अगुवाका अनुसार शुक्रबार बिहान १० बजेदेखि पुनः आन्दोलन सुरु हुनेछ । तनाव कम भए पनि स्थानीयहरू भने आगामी दिनमा स्थिति पुनः उग्र नबनोस् भन्ने अपेक्षामा छन् ।
एमालेले बारामा गर्न लागेको कार्यक्रममा अवरोध गर्ने गरी जेनजीको नाममा एउटा समूह सक्रिय बनेको थियो । कार्यक्रममा जाने तयारी गरेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतलाई रोक्न खोज्दा बुधबार पनि सिमरा तनावपूर्ण बनेको थियो ।

























