विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ५, शुक्रबार १०:०३

बुटवल । पाल्पास्थित रानीमहल क्षेत्र भ्रमणका लागि गएका विद्यार्थी बोकेर आएको एउटा बस आज (शुक्रबार) बिहान दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना५ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहल जाने क्रममा तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिकै बस अनियन्त्रित भएर बस सडकको भित्तामा ठोक्किन पुगेको पाल्पाका डीएसपी होम प्रकास चौधरीले बताए ।

दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीय सन्ध्या भण्डारी, राजपुर गाउँपालिका–६ की १८ वर्षीय दिल कुमारी रावत छन् ।

यसैगरी राजपुर–६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल तानसेन पठाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.