
सुनसरी । सुनसरीका विभिन्न स्थानमा जंगली हात्तीको ठूलो समूहले बस्ती तथा खेतबारीमा पसेर वितण्डा मच्चाएको छ। भारतबाट आएका ५० भन्दा बढी हात्तीको समूहले बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिका क्षेत्रमा पाक्न लागेको धानबालीमा ठूलो नोक्सानी पुर्याएपछि स्थानीय किसान आतंकित बनेका छन् ।
विशेष गरी बराहक्षेत्र नगरपालिका-२ देखि ७ सम्मका जब्दी, सिमरवना, नडाहालगायतका क्षेत्रमा राति–राति हात्तीको बथान पस्ने गरेको छ। हात्तीले पाक्नै लागेको धान, तरकारी र फलफूल बाली सखाप पारेको स्थानीयले बताएका छन् ।
हात्तीको आतंकका कारण किसानहरू ठूलो मारमा परेका छन् । बराहक्षेत्र–२ का युवक बस्नेत, विज्ञान थापा लगायतका किसानको मात्रै करिब ५ बिघा धानबाली हात्तीले मिचिदिएको छ । पीडित किसान युवक बस्नेत भन्छन्, ‘यो वर्ष धानबाली सबै सकियो, खानका लागि चामल किन्नुपर्ने अवस्था आयो। दुई लाखभन्दा बढी क्षति भयो तर क्षतिपूर्ति ५ हजार पनि नआउने रहेछ ।’
यस्तै ६५ वर्षीया दिलकुमारी लिम्बूले १० कठ्ठा धानबाली नष्ट हुँदा लामो प्रक्रिया पूरा गरेर एक वर्षपछि मात्र ५ हजार रुपैयाँ राहत पाएको गुनासो गरिन् । ‘न राहत छिटो आउँछ, न सरकारले जनावर नियन्त्रण गर्छ,’ उनले भनिन् । सरकारी निकायको लाचारी जिल्ला वन कार्यालय र सरोकारवाला निकायले हात्ती नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको स्थानीयको आरोप छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले हात्तीले जब्दी, पुनर्बास, रेल्वे, अमाहालगायत क्षेत्रमा लगातार क्षति पुर्याइरहेको पुष्टि गरे । कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर केदारप्रसाद दासका अनुसार गत वर्ष मात्रै अढाई सय बिघा बालीमा क्षति पुगेको थियो। बजेट अभावका कारण ३ सय १५ पीडितमध्ये २ सय ६० जनाले मात्र क्षतिपूर्ति पाएका थिए ।

























