सांकेतिक तस्बिरझापा । झापा जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ घर भएका ६१ वर्षीय कर्णबहादुर लिम्बु छन् । शुक्रबार बिहान कारागारभित्रै लिम्बुलाई अचानक रक्तचाप सम्बन्धी समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएलगत्तै उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचार भइरहेकै अवस्थामा बिहान ८:४० बजे उनको मृत्यु भएको हो । लिम्बु जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ६ वर्षदेखि जेल जीवन बिताइरहेका थिए । उनी २०७५ साल साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
शव हाल प्रादेशिक अस्पताल भद्रपुरमै राखिएको छ। घटनाबारे थप अनुसन्धान गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली अस्पताल पुगेको छ। प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको जनाएको छ।

























