
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमको थप समय शुक्रबारबाट सकिएको छ । नयाँ मतदाता दर्ताको चाप र सरोकारवाला पक्षको आग्रहका आधारमा आयोगले गत कात्तिक ३० गतेसम्मको समयलाई बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।
यस अवधिमा मुलुकभरबाट कुल ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको जानकारी आयोगले दिएको छ । थपिएका मतदातामध्ये बायोमेट्रिक्स मार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्र मार्फत ४ लाख ९२ हजार १८० जना रहेका छन् ।
निर्वाचनको क्रममा दल दर्ताको प्रक्रिया पनि तीव्र भएको छ। निर्वाचन आयोगमा शुक्रबारसम्म १० वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् । दर्ता भएका दलहरूमा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी छन् । यस्तै, अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरी आएका छन् र ती दलहरूको दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

























