झापाको गोठमा आगलागी हुँदा खसी–बाख्रा मरे, निभाउने क्रममा वृद्धासहित २ जना घाइते

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १२:२८
प्रतीकात्मक तस्बिर

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–१० चोथाइमा शुक्रबार राति गोठीमा आगलागी हुँदा १० वटा खसी–बाख्रा जलेर मरेका छन् । वृद्धासहित २ जना घाइते भएका छन् ।

स्थानीय बलबहादुर दाहालको गोठमा राति ११ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगोले जलेर १० वटा खसी–बाख्रा र ५० वटा ब्रोइलर कुखुरा मरेका छन् भने गोठ पूर्णरूपले ध्वस्त भएको छ ।

घटनामा १३ लाख २५ हजार रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो निभाउने क्रममा घरधनीकी श्रीमती ४२ वर्षीया छत्रकुमारी थापा र घरमा बस्दै आएकी ७० वर्षीया भीमादेवी भण्डारी घाइते भएका छन् ।

छत्रकुमारी आगोले पोलेर र भीमादेवी लडेर घाइते भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार सामान्य अवस्थामा दुवै जना शनिश्चरेस्थित शंकर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बिर्तामोड तथा मेचीनगर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.