शिलान्यासकै मितिमा बुवाखोलाको पुल उद्घाटन, १ वर्षमै निर्माण सम्पन्न

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १४:३१

विराटनगर । कोशी प्रदेश सरकारले शिलान्यास गरेको १ वर्षमै खोटाङको बुवाखोलामाथि बनेको महत्त्वपूर्ण पक्की पुल उद्घाटन गरेको छ । शिलान्यास भएको मितिमा पुल उद्घाटन गरेर प्रदेश सरकारले द्रुत विकासको उदाहरण प्रस्तुत गरेको छ ।

खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकालाई जोड्ने १४८ मिटर लामो यो पक्की पुल शनिबार भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गरेका हुन् । संयोगवश, मन्त्री राईले नै २०८१ मंसिर ६ गते यस पुलको शिलान्यास गरेका थिए।

कोशी प्रदेश सरकारको १७ करोड ७० लाख १० हजार २६५ रुपैयाँ लागतमा जय वागेश्वरी रेग्मी चुरिया जेभी गाईघाटले २०८१ वैशाख ३० गते निर्माण सम्झौता गरेको थियो । पुलको निर्माण अवधि २०८३ कात्तिक ३१ गतेसम्मका लागि तोकिएको थियो।

तोकिएको समयभन्दा करिब एक वर्षअघि नै निर्माण सम्पन्न भएको यो पुल प्रदेश सरकारले निर्माण गरेको हालसम्मकै सबैभन्दा लामो पक्की पुल हो । पुल निर्माण भएपछि बराहपोखरी गाउँपालिका–५ को पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ का नागरिकलाई आवतजावतमा सहजता मिलेको छ।

पुल उद्घाटन गर्दै मन्त्री राईले नागरिकलाई आउजाउ गर्न सहज भएकोमा खुसी व्यक्त गरे । उनले इच्छाशक्ति भए समय अघि नै काम गर्न सकिने उदाहरण खोटाङले प्रस्तुत गरेको बताए ।

बुवाखोलाको पुल निर्माणस्थल नजिकै सुनकोसी नदीमा पनि बेलिब्रिज निर्माणको प्रक्रिया सुरु भएको छ। सुनकोसीमा बेलिब्रिज निर्माण भएपछि खोटाङबाट तराई जोड्ने सडक दूरी अझ घट्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.