
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बिउ–बिजन बेच्दै गर्दा बेहोस भएका १ जना वृद्धको शनिबार दिउँसो मृत्यु भएको छ ।
बिउ–बिजनको व्यापार गर्न कञ्जीबारी बजार गएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बजारमा बिउ बेच्दै गर्दा राजवंशी दिउँसो ३ बजेतिर अचानक बेहोस भएर ढलेका थिए ।
स्थानीयले तत्काल उनलाई उद्धार गरी उपचारका लागि दमक अस्पताल पुर्याए । तर, अस्पताल पुर्याउनसाथ ४ः३५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको प्रारम्भिक विवरण संकलन गर्दै थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
राजवंशीको मृत्युको कारण खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट मात्रै मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।

























