जेनजी प्रदर्शनमा सुरक्षाकर्मीको अस्वभाविक बल प्रयोग: ह्यूमन राइट्स वाच

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १०:१९

काठमाडौं । मानव अधिकारको विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राइट्स वाचले साढे गत भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट अस्वभाविक र असंगत बल प्रयोग भएको निष्कर्ष निकालेको छ। संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा करिब तीन घण्टासम्म प्रदर्शनकारीहरूमाथि धेरैपटक अन्धाधुन्ध गोली प्रहार भएको र यसले परिस्थिति झन् भड्काएको उल्लेख छ ।

ह्यूमन राइट्स वाचले सरकारले गठन गरेको न्यायिक आयोगलाई पारदर्शी रूपमा काम गर्न र कानुन तोड्ने जो कोहीलाई अनुसन्धानको दायरामा ल्याउन सक्षम हुनुपर्ने औंल्याएको छ । प्रतिवेदन अनुसार राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको प्रदर्शनको पहिलो दिन प्रहरीले भीड तितरवितर पार्न सोझै ‘प्राणघातक बल’ प्रयोग गरेको थियो । प्रतिवेदनले सुरक्षाकर्मीहरू जीवन–मरणको जोखिममा नभएका बेला पनि गोली चलाएको निष्कर्ष निकालेको छ । अधिकांश प्रहार टाउको, छाती र पेटमा केन्द्रित थियो ।

संयुक्त राष्ट्रसंघीय मापदण्ड र नेपालको कानुनअनुसार सुरक्षाकर्मीको जीवन–मरणको तत्कालीन जोखिममा मात्र चेतावनीसहित प्राणघातक हतियार प्रयोग गर्न मिल्छ । तर, अध्ययनले सो प्रक्रियाको पालना नभएको र भीड नियन्त्रण र प्राणघातक बल प्रयोगको प्रक्रियाको पालना नभएको पाइएको छ ।

गोली लागेर मात्रै १७ जनाको ज्यान गएको र त्यस दिन मर्नेको कुल संख्या २२ पुगेको प्रतिवेदनमा उल्लेख छ । गोली लागेर घाइते हुनेहरूको संख्या सयौँ थियो । प्रदर्शनकारीहरू बिहानै माइतीघरमा भेला भए पनि संसद भवन जाने सडकमा एउटा मात्र ब्यारिकेड राखिएको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै प्रतिवेदनले प्राणघातक बल प्रयोग गर्नुअघि कुनै चेतावनी नदिइएको बताएको छ ।

करिब पौने २ बजे प्रहरीको गोली लागेकी एक किशोरीले आफूलाई गोली लागेको बेला स्थिति शान्त रहेको र कुनै हिंसा नभएको बताएकी थिइन् । यसले स्थिति नियन्त्रणमा हुँदा पनि बल प्रयोग भएको पुष्टि गर्छ । सिंहदरबार वरपरबाट पक्राउ परेका ३३ जना प्रदर्शनकारीमाथि कुटपिट भएको र भोलिपल्ट मात्र छाडिएको थियो। अस्पतालमै पुगेर पनि सुरक्षाकर्मीहरूले बल प्रयोग गरेको प्रतिवेदनको निष्कर्ष छ ।

ह्यूमन राइट्स वाचले भदौ २३ गतेको अस्वभाविक बल प्रयोगकै कारण भोलिपल्ट व्यापक आगजनी र लुटपाट भएको निष्कर्ष निकालेको छ । दोस्रो दिनको आगजनी, लुटपाट र आक्रमणमा ुजेनजीु प्रदर्शनसँग सम्बन्धित नभएका व्यक्तिहरू पनि संलग्न भएको उल्लेख छ । सरकारी भवन, राजनीतिज्ञ, पत्रकार र सर्वसाधारणको घरमा आगजनी तथा कुटपिट भएको थियो । दोस्रो दिन हिंसा भड्किँदा राज्यको सुरक्षा बल प्रभावकारी हस्तक्षेप गर्न असफल देखिएको र धेरै ठाउँमा सर्वसाधारणले पनि आगजनीमा भाग लिएको प्रतिवेदनले औंल्याएको छ । आक्रमणमा तीन प्रहरीको समेत ज्यान गएको थियो ।

प्रतिवेदनले हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगलाई निष्पक्ष र पारदर्शी रूपमा काम गर्न जोड दिएको छ । प्रतिवेदनले कानुन तोड्ने जो कोहीलाई अनुसन्धान र अभियोजनको दायरामा ल्याउन सक्नु नै आयोगको सफलताको कसी हुने बताएको छ । साथै, पहिलो र दोस्रो दिनको घटनामा संलग्न सबैको छानबिन हुनुपर्नेमा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.