
विराटनगर । महेश बस्नेतलगायत नेकपा (एमाले) का नेता सुनसरीको इटहरीमा जाने क्रममा जेनजी युवाहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।
बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी इटहरीतर्फ गइसकेपछि दुबहीका युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा उनीहरुले बस्नेत र उनको पार्टीविरुद्ध नारा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले निभाएको छ ।यसअघि विराटनगर विमानस्थलबाट सुनसरीको इटहरी जाने क्रममा २ जना युवाले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । त्यसमा संलग्न विराटनगर-१ का सन्जोग गौतम र २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

























