फाइल फोटो ।विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ मा आज (आइतबार) भएको मोटरसाइकल दुर्घटनामा परी १९ वर्षीय युवकको मृत्यु भएको छ ।
दिउँसो करिब १२:३० बजे लिचिबगान जाने भित्री सडक खण्डमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अन्दाजी १९ वर्षीय सुरज नुनियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सप्तरी, राजबिराज नगरपालिका–१ घर भई हाल मोरङ, बुढीगंगा गाउँपालिका–४ मा बस्दै आएका थिए ।
स्थानीय राशी वर्कशपमा काम गर्दै आएका नुनियाको टाउको, खुट्टा र नाकमा गम्भीर चोट लागेको थियो । इलाका प्रहरी कार्यालय नेमुवाबाट गएको टोलीले तत्काल घाइतेलाई उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचोक पठाएको थियो । अस्पताल पुर्याइएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ ।























