रेडियो अडियोका संस्थापक दीपेन्द्र खनिया आफ्नै घरमा मृत फेला

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १८:१८

काठमाडौं । पत्रकार तथा रेडियो अडियोका संस्थापक दीपेन्द्र खनिया आइतबार बानेश्वरस्थित आफ्नै घरमा मृत फेला परेका छन् ।

परिवारका सदस्य घरबाहिर रहेको समयमा भएको घटनालाई प्रहरीले प्रारम्भिक रूपमा आत्महत्याको आशंकासहित अनुसन्धान अघि बढाएको छ । खनिया आफ्नी श्रीमती र छोरीसँगै बस्दै आएका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार उनी घरको भर्‍याङ नजिकैको रेलिङमा पासो लागेको अवस्थामा भेटिएका थिए । इन्टरनेटको तार प्रयोग गरी पासो लगाइएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ । घटनामा अन्य कसैको संलग्नता छ कि छैन भन्ने विषय पनि अनुसन्धानकै दायरामा रहेको उनले बताए ।

रेडियो पत्रकारितामा दीपेन्द्र खनिया स्थापित नाम मानिन्छ । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा लगायत सञ्चार माध्यममा लामो समय काम गरेका उनले २०६३ सालदेखि हास्य–व्यंग्यका रेडियो कार्यक्रम सुरु गरेर लोकप्रियता हासिल गरेका थिए ।

खनियाको परिवार विगतमै ठूलो दुर्घटनाबाट गुज्रिएको थियो । उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्युले परिवार पुनः शोकमा डुबेको छ ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धान र पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण यकिन हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.