‘देशका सबै लोकतान्त्रिक शक्ति केपी ओलीकै नेतृत्वमा एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ’ : शेरधन राई

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार १६:३९

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राई समसामयिक राजनीतिमा स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । छोटो समयमा नै राजनीतिक उचाइ लिएर लोकप्रियता हासिल गरेका राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । पछिल्लो समय चर्किएको जेनजी आन्दोलन, एमालेको आगामी महाधिवेशन र देशको अस्थिर राजनीतिको सेरोफेरोमा रहेर राईसँग मुलुकी खबरका सम्पादक किशोर बुढाथोकीले गरेको गरेको कुराकानीको सम्पादित अंश :

१, जेनजी आन्दोलन भयो, यसलाई कसरी लिनुभएको छ ?

भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित युवाहरूले आन्दोलन सुरु गर्नु भएको थियो । सरकारले पनि सोही उद्देश्यका साथ काम गरिरहेको थियो । तर, युवाहरूको आन्दोलनमा घुसपैठ भयो । भदौ २३ गतेको आन्दोलनमा घुसपैठ भएपछि अप्रिय अवस्था सिर्जना भयो । भदौ २४ गते पनि उस्तै घुसपैठ भयो, जसले गर्दा राज्यका संरचनाहरू ध्वस्त पारिए । नेपालमा अस्थिरता मच्चाउन चाहने देशी–विदेशी तत्त्वले आन्दोलनमा घुसपैठ गरी राज्यका संवैधानिक र प्रशासनिक अंगहरूलाई कमजोर बनाउने गरी आक्रमण गरे ।

२, देशी–विदेशी शक्तिभन्दा कुरा अमूर्त भयो, खासमा यो कसले गरेको रहेछ ?

धेरै कुराहरू मूर्त रूपमा आइसकेका छन्, ती मैले बताइरहनु पर्दैन । कस–कसका र कुन–कुन देशको फन्डिङबाट कस्ता संस्थाहरू कहिलेदेखि सञ्चालित रहेछन्, त्यसमा को–को संलग्न रहेछन् र के–के बहानामा उनीहरू क्रियाशील रहेछन् भन्ने सबै कुरा बाहिर सतहमा आइसकेको छ । २३ गते पानी वितरण गरेका मान्छेहरूले भोलिपल्ट के गरे, के बोले र अहिले के गर्दै छन् भन्ने कुराहरू पनि प्रस्टै आइरहेका छन् ।

३, जेनजी आन्दोलन हुनुमा राज्यका निकाय र राजनीतिक नेतृत्वको कमजोरी छैन र ?

निश्चय नै हाम्रा कमजोरीहरू छन् । नेपालमा शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट हामीले ठुल्ठूला परिवर्तनहरू गरेका छौँ । तर, ती परिवर्तनहरू एकल आन्दोलनबाट भन्दा पनि संयुक्त संघर्षबाट भएका छन् । लोकतन्त्र र गणतन्त्रका लागि एक ठाउँमा उभिनसक्ने सबै शक्तिहरू मिलेर हामी लडेका छौँ । त्यो संघर्षमा हामीले प्रमुख निसानामाथि प्रहार केन्द्रित गरेर परिवर्तन हासिल गरेका हौँ । २०४६ सालदेखि यताका परिवर्तनहरूलाई हामीले त्यस रूपमा लिन सकिन्छ ।

४, जेनजी आन्दोलनपछि दलहरू सुध्रिनुपर्ने (रिफर्म) बेला पनि हो, तर एमाले किन तयार नभएको ?

निश्चय नै रिफर्म गर्ने हो, हामी लगातार रिफर्म हुँदै आएका पनि छौँ । हामी नियमित महाधिवेशनहरू गर्छौँ, जसबाट नयाँ र ताजा नेतृत्व निर्माण गर्छौँ । हाम्रा नीतिहरू समसामयिक र सान्दर्भिक बनाउँछौँ । नवौँ राष्ट्रिय महाधिवेशन यता नै हामीले जेनजी पुस्तालाई संगठनको संरचनामा समेट्न १० देखि २० प्रतिशतसम्मको वैधानिक व्यवस्था गरेर अगाडि बढेका छौँ ।

अहिलेको जेनजी मुभमेन्टपछि स्वाभाविक रूपमा राज्यका सम्पूर्ण संरचनाहरू हल्लिएको अवस्था छ । यसले सबैलाई एकपटक सोच्न बाध्य बनाएको छ । त्यसैले, बिल्कुलै नयाँ ढंगबाट अगाडि बढ्न सुधार (रिफर्म) त हुनैपर्छ। नेकपा (एमाले) यस बीचको परिस्थितिको समीक्षा गर्दै राष्ट्रिय महाधिवेशनमा जाँदैछ । महाधिवेशनबाट एमालेले आफूलाई रिफर्म गर्छ र अगाडि बढ्छ।

५, जेनजी आन्दोलनले पुस्तान्तरणको विषयलाई उठाएको छ । एमालेको अब हुने महाधिवेशनले त्यो पुस्तान्तरण गर्न सक्छ कि सक्दैन ?

पुस्तान्तरणको पनि एउटा सिलसिला, सान्दर्भिकता र औचित्य हुन्छ । नेतृत्व भनेको कुनै खास उमेर समूहको मान्छेलाई टपक्क टिपेर कुर्सीमा राखिदिँदैमा हुने होइन । नेतृत्व निर्माण हुनका लागि विचार, दृष्टिकोण, अडान, परिपक्वता, योग्यता र क्षमताजस्ता धेरै कुरा जोडिन्छन् । ‘फलानाले नेतृत्व गर्न सक्छ, हामी पूर्ण विश्वास र भरोसा गर्न सक्छौँ’ भन्ने अनुभूति आम मानिसलाई दिन सक्नुपर्छ । त्यस्तो व्यक्तित्व उमेरका कारणले मात्र बन्दैन ।

अहिले जेनजी पुस्ताको कोही युवालाई एमालेको अध्यक्षको कुर्सीमा राख्दैमा एमाले दन्दनाउने वा चमत्कारिक रूपमा अगाडि बढ्ने भन्ने हुँदैन । राजनीति त्यस्तो प्राविधिक कुराले चल्दैन । यद्यपि, एमालेले पुस्तान्तरण र युवाहरूलाई समेट्ने कुरामा ध्यान दिएको छ । यही महाधिवेशनमा जेनजी युवाहरूलाई प्रतिनिधि बन्न विशेष व्यवस्था गरिएको छ र केन्द्रीय नेतृत्वमै उनीहरूलाई ठूलो संख्यामा ल्याउने तयारी एमालेले गरिरहेको छ ।

६, आगामी महाधिवेशनमा नेतृत्व गर्न सक्ने व्यक्ति केपी ओलीबाहेक अरू कोही हुन्न भन्ने हो तपाईंको आशय ?

अहिलेको समग्र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा र मुलुकमाथि यत्रो हमला भइरहेको अवस्थामा लोकतन्त्र, संविधान र देश बचाउनका लागि बोल्न सक्ने, उभिन सक्ने नेता अहिले अरू कोही देख्नुभएको छ ? अरू कुनै पार्टीका नेताहरू यसरी उभिएका छन् ? एउटै मात्र दल र नेता केपी ओली हुन्, जो देश, लोकतन्त्र र संविधानको रक्षार्थ ठिङ्ग उभिएर मैदानमा हुनुहुन्छ ।

७, अहिलेको परिस्थिति पनि उहाँकै कारणले सिर्जना भएको होइन र ?

होइन, त्यो साँचो होइन। उहाँमाथि हमला केन्द्रित भयो । किनकि उहाँ लोकतन्त्र, संविधान, गणतन्त्र, र देशको स्वाधीनताको पक्षमा बलियो रूपमा उभिनुभयो । हाम्रा छिमेकी मुलुकका समकक्षीहरूसँग आँखा जुधाएर कुरा गर्न सक्ने उहाँबाहेक अरू कोही थिएनन् ।

उहाँले ‘लिड’ गर्नुभयो, त्यसैले उहाँमाथि हमला भयो र दोष थोपर्न खोजियो । देश बलियो हुँदै जाँदा, राजनीतिक स्थायित्व र समृद्धितर्फ अघि बढ्न खोज्दा उहाँमाथि प्रहार भएको हो । उहाँले राष्ट्रघात वा जनघात गरेर यो परिस्थिति आएको होइन ।

८, जेनजी आन्दोलन हुँदा सरकारको नेतृत्वमा त उहाँ नै हुनुहुन्थ्यो नि ?

दोष नेतृत्वलाई मात्र दिन मिल्दैन । यो परिस्थिति त्यो सरकारले सिर्जना गरेको होइन । समाजमा निराशा मात्रै बाँड्ने र नकारात्मकताको खेती गर्ने समूहहरूले यो अवस्था ल्याएका हुन् । देशमा अभूतपूर्व विकास हुँदाहुँदै पनि नकारात्मक भाष्य निर्माण गरियो । त्यही परिस्थितिमा टेकेर प्रतिगामी शक्तिहरूले षड्यन्त्र गरे ।

त्यसैले, केपी ओलीलाई मात्र दोष दिनु असाध्यै गलत हो । बरु अहिलेको अवस्थाले यो देखाइसकेको छ कि लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि पनि केपी ओलीलाई केन्द्रविन्दु बनाएर सबै शक्ति एक ठाउँमा उभिनुको विकल्प छैन । नेपाली कांग्रेसलगायत लोकतान्त्रिक शक्तिहरू एमाले अध्यक्ष ओलीको नेतृत्वमा गोलबन्द हुनुपर्छ ।

९, नयाँ सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ । एमालेबाहेकका सबै ठूला दलले चुनावमा जाने निर्णय गरिसके । तपाईंहरू चाहिँ किन सडकमा हुनुहुन्छ ? चुनावमा जान ‘प्रेसर’ पर्यो कि परेन ?

पहिलो कुरा, यो सरकार चुनाव गराउन बनेको होइन । यो सरकार न संविधानको रक्षा गर्न बनेको हो, न त मुलुकलाई सही ट्र्याकमा लैजान । यो त कांग्रेस–एमालेजस्ता लोकतान्त्रिक शक्तिलाई सिध्याउन र अर्कै कोर्समा मुलुकलाई लैजान बनेको सरकार हो । त्यसैले यसले फागुन २१ गते सहज रूपमा चुनाव गराउँछ भन्ने हामीलाई लाग्दैन ।

दोस्रो, चुनावका लागि सरकारले कुनै स्वच्छ वातावरण बनाएको छैन । दलका नेतालाई तर्साउने, थुन्ने र यातना दिने काम भइरहेको छ । १ लाखभन्दा बढी गोलीगट्ठा र १२ सयभन्दा बढी हतियार बाहिर छन् । साढे ५ हजार कैदीहरू बाहिर छन् । यसतर्फ सरकारको ध्यान छैन । शान्तिपूर्ण कार्यक्रममा समेत बन्देज लगाइएको छ । यस्तो अवस्थामा चुनाव हुन्छ भन्ने एमालेलाई लागेको छैन । एमाले चुनावबाट भाग्ने दल होइन, तर कम्तीमा वातावरण त बन्नुपर्यो ।

१०, वातावरण बनाउने दायित्व त एमालेको पनि होला नि ?

एमालेले त शान्ति कायम होस् र सुरक्षाकर्मीको मनोबल बढोस् भन्ने चाहेको छ । तर, सरकारले सुरक्षा निकायको मनोबल गिराउने काम गरिरहेको छ । सिमराको घटनाले पनि सरकारको नियत प्रस्ट पार्छ ।

सबैभन्दा पहिला सरकारले हराएका हतियार नियन्त्रणमा लिनुपर्यो, मुख्य दलहरूसँग वार्ता गर्नुपर्यो र सहमतिको वातावरण बनाउनुपर्यो । जबर्जस्ती ‘म चुनाव गराउँछु’ भनेर मात्र चुनाव हुँदैन । भइहाले पनि त्यसको वैधता हुँदैन । यो सरकारको ध्यान चुनावमा नभई लोकतान्त्रिक शक्तिहरूलाई ‘ड्यामेज’ गर्ने षड्यन्त्रमा केन्द्रित छ ।

११, नेकपा (एमाले)को महाधिवेशन आउँदैछ । तपाईंको उम्मेदवारी र दाबेदारी केमा रहन्छ ?

उम्मेदवारी घोषणा गर्ने बेला त भइसकेको छैन । तर, म ११औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीको रूपमा एक सहज र स्वाभाविक उम्मेदवार हुँ । यो मैले भनिरहनुपर्दैन, देशभरिका कार्यकर्ताले अनुमान गरिसकेको विषय हो । दशौँ महाधिवेशनमै म पदाधिकारीका लागि योग्य भइसकेको थिएँ । म तल्लो तहबाटै, कुनै फड्को नमानी, भर्‍याङको सिलसिला नतोडी आएको कार्यकर्ता हुँ । त्यसैले स्वाभाविक रूपमा म पदाधिकारीको दाबेदार हुँ ।

१२, तपाईं कोशी प्रदेशको पूर्वमुख्यमन्त्री पनि हुनुहुन्छ । अहिले प्रदेशमा एमालेकै नेतृत्वमा सरकार छ । यो सरकारको कामलाई कसरी हेरिरहनुभएको छ ?

सरकारको कामकारबाहीबारे धेरैखाले टीकाटिप्पणी र आलोचनाहरू हामीले सुनिरहेका छौँ । एमालेकै नेतृत्वमा सरकार भएकाले हामीले आन्तरिक समीक्षा पनि गरेका छौँ । सोही समीक्षाका आधारमा मन्त्रिपरिषद्, खासगरी मन्त्रीहरू हेरफेर गर्ने निष्कर्षमा हामी पुगेका थियौँ । तर, नेपाली कांग्रेसका कारण त्यो हुन सकेको छैन । जे होस्, अब जनगुनासो सम्बोधन हुने गरी र जनतामा आशा जगाउने गरी सरकारले गति लिनुपर्छ । अहिले सरकार ‘ठीकै’ ढंगले चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–३ बाट सर्वाधिक मतसहित डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित
१२ विधेयक पारित गर्दै सकियो प्रतिनिधिसभाको दोस्रो अधिवेशन
चलचलित्र विकास बोर्ड अध्यक्षको दौडमा पहारी, १२ जनाको आवेदन
सरकारी संरचनाको अनिवार्य बिमा गर्न सांसदहरूको माग
प्रहरीको कार्यसम्पादनप्रति प्रधान कार्यालय असन्तुष्ट, सुरक्षा चुनौतीको गहन विश्लेषण गर्न निर्देशन
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×