
धरान । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२० बाट ५० किलोग्राम लागूऔषध गाँजासहित पिकअप गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो करिब १:१० बजे अस्थायी प्रहरी चौकी विष्णुपादुका क्षेत्रमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषणबाबु राईका अनुसार, को १ ज २१७८ नम्बरको यात्रुवाहक पिकअप गाडी जाँच गर्दा गाडीमा लुकाएर राखिएको ५० केजी गाँजा फेला परेको थियो ।
प्रहरीले गाँजासहित गाडी चालक धनकुटा, साँगुरीगढी गाउँपालिका–९ का खड्गबहादुर मगराती र सहचालक दुर्गा बिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोही गाडीको पछाडिको भागमा सवार रहेका अन्य दुई जना भने प्रहरीलाई देख्नेबित्तिकै हाम फालेर भागेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

























