
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पद कायम हुनुपर्ने माग राख्दै सरकारको निर्णयलाई चुनौती दिएर सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको यस रिटमा आज हुने बहसमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय दिनेछ।
सरकारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गरी सरुवा गरेको थियो । उनले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै रिट दायर गरेका हुन्।
यदि सर्वोच्चले आज अन्तरिम आदेश जारी गरेमा, शाक्य पुनः प्राधिकरणको नेतृत्वमा फर्कनेछन् । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको छ। यो निर्णय कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि आएको थियो । शाक्यले यसअघि पनि कुलमान घिसिङविरुद्ध रिट दायर गरेका थिए। घिसिङलाई हटाएर केपी शर्मा ओली सरकारले शाक्यलाई नियुक्त गरेपछि घिसिङले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

























