सरकारको अर्जुनदृष्टि निर्वाचनमा : गृहमन्त्री अर्याल

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार ११:२९

भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको वर्तमान सरकार जेनजी आन्दोलनको बलिदानको जगमा निर्माण भएको र यसको ‘अर्जुनदृष्टि’ जतिसक्दो छिटो निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्नमा केन्द्रित रहेको बताएका छन् ।

मंगलबार रुपन्देहीको भैरहवामा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको पहिलो र मुख्य अभिभारा निर्वाचन सम्पन्न गर्ने रहेको स्पष्ट पारे । गृहमन्त्री अर्यालले विभिन्न बहाना देखाएर ‘चुनाव हुँदैन’ भन्दै हिँड्नेहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री अर्यालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा चुनौतीहरूको विश्लेषण गर्न र रणनीतिहरू तयार गर्न सातै प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिने जानकारी दिए । लुम्बिनीबाट बैठक सुरु गर्नुको कारण बुद्धको शान्तिको सन्देश फिँजाउनु पनि रहेको उनले बताए।

जेनजी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियार लाई कतिपय पक्षले ‘थ्रेट’ को रूपमा प्रचार गरे पनि सरकार त्यस्ता व्यक्ति र हतियार नियन्त्रणमा क्रियाशीलता बढाएको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा मात्रै अहिलेसम्म ७८ जना फरार व्यक्ति नियन्त्रणमा लिइएको र हतियार खोज्न सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने अहिले पनि जनता भयभीत अवस्थामा रहेको र सुरक्षाकर्मीको मनोबल बढाउन जरुरी रहेको उल्लेख गरे । उनले सरकारको पहिलो दायित्व सुरक्षाकर्मीको मनोबल बढाउनु रहेकोमा जोड दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.