भिसा दुरुपयोगमाथि अध्यागमनको कडाइ: विदेशीको गतिविधिमाथि विशेष निगरानी

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १३:५०

काठमाडौँ । अध्ययन भिसामा नेपाल आई भिसाको उद्देश्यविपरीत कार्य गर्ने विदेशी नागरिकहरूमाथि अध्यागमन विभागले विशेष निगरानी सुरु गरेको छ। भिसा दुरुपयोग गर्ने विदेशी र त्यस्तालाई सिफारिस गर्ने शैक्षिक संस्थामाथि विभागले अनुसन्धान अघि बढाएको हो।

अध्यागमन विभागले अध्ययन गर्दा भिसा प्राप्त विदेशी नागरिकमा निम्न समस्याहरू देखिएको विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालले बताए। अध्ययन भिसा नपाउने व्यक्तिहरूलाई समेत शैक्षिक संस्थाहरूले सिफारिस गरेको भेटिएको छ। भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरू नियमित रूपमा कक्षामा सहभागी नहुने गरेको भेटिएको छ।

अध्ययन भिसाको अवधि थप गर्नका लागि नक्कली कागजात पेश गर्ने गरेको, कोर्ष पूरा भएपछि समेत शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेको पाइएको छ। कतिपय विदेशी नागरिकहरू कानुन बर्जित गरिएका गैह्रकानूनी क्रियाकलापमा समेत संलग्न रहेको पाइएको गैह्रकानूनी संलग्नता पाइएको छ।

विभागले सूचना जारी गर्दै अध्ययन भिसा नपाउने र कानुनविपरीत कार्यमा संलग्न व्यक्तिलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ। गैह्रकानूनी क्रियाकलापमा संलग्न विदेशी नागरिकको सूचना प्रहरी तथा स्थानीय निकायमा तत्काल दिन अनुरोध गरेको छ।

शिक्षा मन्त्रालयलाई विदेशी नागरिकलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाको अनुगमन गर्न अनुरोध गरिएको छ। विदेशी नागरिकहरूको गतिविधि अनुगमन गर्न ७७ वटै जिल्ला अनुगमन समितिलाई विशेष अनुरोध गरिएको छ। अध्यागमन विभागले भिसाको दुरुपयोग रोक्न र नेपालमा विदेशी नागरिकको बसाइलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन यो कदम चालेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.