विराटनगर । औषधि ऐन संशोधनको माग गर्दै व्यवसायीले विराटनगरमा प्रदर्शन गरेका छन् । औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा ५ खारेजको माग गर्दै कोशी प्रदेशका औषधि व्यवसायीले प्रदर्शन गरेका हुन् ।
विराटनगर महानगरपालिका– ३ मा रहेको औषधि व्यवस्था विभाग परिसरमा प्रदर्शन गरेका औषधि व्यवसायीहरु ऐनलाई संशोधन गर्न माग गरे ।
औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा २ अनुसार अनुज्ञा प्रमाणपत्र अवधि सकिनु अगावै नविकरण गर्नुपर्छ । उपदफा ३ मा म्याद सकिएको ३० दिन भित्र दोब्बर दस्तुरसहित नविकरण गर्न सक्ने प्रावधान छ । ३० दिन भित्र नविकरण नगरे प्रमाणपत्र स्वत खारेज हुने प्रावधान उपदफा ५ मा छ ।
व्यवसायीले उपदफा ५ खारेज गर्नुपर्ने माग गरेका छन् । संघका मोरङ अध्यक्ष देशबन्धु ढकाल पेसागत सुरक्षामाथि समस्या हुने भएकाले प्रावधान सच्याउन माग गरिएकाे बताए । आन्दाेलन चरणवद्ध रूपमा गर्ने उनले बताए । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ ले औषधिको दर्ता सम्बन्धि प्रावधान कसिलो बनाएको थियो । संशाेधन ऐन गत साउन २४ गते प्रमाणीकरण भएकाे थियाे ।