चलचित्र ‘मिरमिरे’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु, माघ १ मा रिलिज

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १०:३४

काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘मिरमिरे’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। चलचित्रको मिडिल इस्टसहित केही प्रमुख देशहरूको प्रदर्शन राइट्स बिक्री भइसकेको छ।

निर्देशक यम शेर्पाले दिएको जानकारी अनुसार युएई, कतार, बहराइन, इजरायल र मलेसिया को प्रदर्शन अधिकार बिक्री भएको छ। यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ। चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु र गायक तथा अभिनेता प्रकाश सपूत मुख्य भूमिकामा छन्। ‘मिरमिरे’ आगामी माघ १ गते रिलिज हुँदैछ।

Advertisement

दयाहाङ राई र प्रकाश सपूतको यो पहिलो सहकार्य हो। निर्देशक यम शेर्पाले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय छ।

‘मिरमिरे’को निर्देशन र स्टोरी यम शेर्पा स्वयंले लेखेका हुन्। छायाकार आलोक शुक्ला, निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा, सहनिर्माता गोविन्द बोहरा, सुदिप कुँवर, कार्यकारी निर्माता चलचित्र वितरक रोहित कट्टेल हुन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ। हालै चलचित्रका दुई पोस्टरहरू सार्वजनिक भएका थिए, जसमा मुख्य कलाकारहरूका साथमा एक बाल कलाकार, शाइसा गौचन, सिर्जना निङ्लेखु र प्रकाश सपूत फिचर्ड थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.