
विराटनगर । विराटनगर महानगरपालिका –११ स्थित विराटनगर बसपार्कमा शनिबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा तथा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको सहकार्यमा सवारी चालक तथा सहचालकहरूका लागि निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको हो ।
आँखा शिविरका प्रमुख अतिथि विराटनगर–११ का वडाध्यक्ष तीर्थन्द्र न्यौपाने, कार्यक्रमका अध्यक्ष ट्राफिक कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरी, मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, बस व्यवसायी, मजदुर संगठनका प्रतिनिधिलगायतको शिविरका उपस्थिति रहेको थियो ।

कार्यक्रममार्फत स्वास्थ्यसम्बन्धी कमजोरीका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले करिब ४ सय जना चालक र सहचालक, स्थानीय र यात्रुहरूको आँखा परीक्षण गरिएको ट्राफिक कार्यालय मोरङले जनाएको छ । शिविरमा आँखा परीक्षण गर्दा केहीमा समस्या देखिएकाले थप उपचारका लागि अस्पतालमा सम्पर्क गर्न भनिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी गिरीले सवारी साधन दैनिकीको अभिन्न हिस्सा भएको, तर दुर्घटना ठुलो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै स्वस्थ चालकले मात्र सुरक्षित यात्रामा योगदान दिन सक्ने भएकाले यस प्रकारका स्वास्थ्य जाँच कार्यक्रम आवश्यक रहेको बताए ।

आयोजकहरूले आगामी दिनमा पनि सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने बताएका छन् ।























