बढ्दो चिसोसँगै देशभर आगलागीका घटनामा वृद्धि

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १०:२६
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार, देशभर चिसो बढ्दै जाँदा आगलागीका घटनाहरूमा समेत उल्लेख्य वृद्धि भएको पाइएको छ। मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहानसम्मको २४ घण्टामा मात्रै देशभर कूल १७ वटा विपद्‌का घटनाहरू भए, जसले कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति पुर्‍यायो।

यी घटनामध्ये सबैभन्दा बढी १४ वटा आगलागीका घटना थिए। त्यस दिन झापामा मात्रै चार आगलागीका घटना भएका थिए भने कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक–एक आगलागीका घटना भएका थिए।

यसअघि, मंसिर १० गते बिहानदेखि ११ गते बिहानसम्मको अवधिमा पनि कूल १७ विपद्‌का घटना भएका थिए, जसमध्ये १३ वटा आगलागीका थिए। त्यस दिन सप्तरी र बर्दियामा सर्पदंश तथा मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए। यस अवधिमा कूल १९ लाख ९६ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। त्यसदिन मोरङ, सर्लाही, सिरहा, ललितपुर, कास्की, बाग्लुङ, पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भएका थिए।

मङ्सिर ९ गते बिहानदेखि १० गते बिहानसम्मको अवधिमा कूल १३ विपद्‌का घटना भए, जसमा १० वटा आगलागीका मात्रै घटना थिए। यसबाट १८ लाख ४३ हजार बराबरको क्षति भयो। सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर तथा ताप्लेजुङमा जनावर आक्रमणका घटना भएका थिए।

यस्तै, मङ्सिर ७ देखि ८ गते बिहानसम्म कूल १८ वटा विपद्का घटना भएका थिए, जसमध्ये सर्लाहीमा तीन र गुल्मीमा दुई वटासहित बाँकी विभिन्न जिल्लामा आगलागीका घटना भएका थिए। यसरी चिसो मौसम सुरु भएसँगै देशभर आगलागीका घटनामा लगातार वृद्धि हुँदै ठूलो आर्थिक क्षति भइरहेको देखिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.